५ लाख बेरोजगारलाई रोजगारी दिने सरकारको तयारी

५ लाख बेरोजगारलाई रोजगारी दिने सरकारले तयारी गरेको छ । प्रत्यक बर्ष ५ लाखको दरले १० बर्षमा ५० लाख बेरोजगारलाई नेपालमै रोजगार दिने तयारी सरकारले गरेको छ ।

सरकारले इतिहासमै पहिलोपटक बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रमको लाेगाे सार्वजनिक भएकाे छ । वर्तमान सरकारकाे सबैभन्दा महात्वकांक्षी र लाेकप्रिय कार्यक्रम मानिएकाे यसकाे फागुन १ गते १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

यस कार्यक्रम सातै प्रदेशमा मुख्यमन्त्रीहरुले समेत साेही समयमा उद्घाटन गर्ने तयारी गरिएकाे श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री गाेकर्ण विष्टका प्रेस संयाेजक मदन खनालले जानकारी दिए । उनका अनुसार काठमाडौकाे सभागृहमा हुने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ ।

यस कार्यक्रमले वेराेजगार युवाहरूलाई मुख्य केन्द्रमा राखेर काम गर्नेछ । कार्यक्रम अनुसार यो कार्यक्रमले विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी छ । यद्यपि वेराेजगारलाई रोजगारी दिलाउने नै सरकारकाे पहिलाे प्राथमिकता हुनेछ ।

बेरोजगार युवाले आफ्नो स्थानीय तहका रोजगार सूचना केन्द्रमा आफ्नो व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ । जसका लागि मन्त्रालयले सबै स्थानीय तहमा राेजगार अधिकृतकाे भर्ना प्रकिया सुरु गरिसकेकाे छ ।

कार्यक्रम सुरु भएपछि सरकारले रोजगारी नभएकाहरुलाई सय वा १२० दिनका लागि आफैंले काम खोजिदिने तयारी छ । यदि सरकारले काम दिन नसके सरकारी ढुकुटीबाटै सो अवधि बराबरको पारिश्रमिक बापत तलव दिने व्यवस्था कार्यक्रममा गर्न लागिएकाे छ ।

प्रधानमन्त्री राेजगार कार्यक्रमको मन्त्री गाेकर्ण विष्टकाे नेतृत्वमा श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सफल कार्यान्वयन गर्दैछ । प्रधानमन्त्री राेजगार कार्यक्रमलाई मन्त्री विष्टकाे अर्काे सफलताको रुपमा समेत व्याख्या गरिएकाे छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै मन्त्री विष्ट नीतिगत सुधार र समस्याहरुकाे नीतिगत समाधानमा केन्द्रीत देखिएका छन ।