जुलोजिक पार्क र वन निर्देशनालय गण्डकी प्रदेशबीच मंगलबार सम्झौता भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पोखरा ३१ स्थित पचभैयामा निर्माणधिन वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि छुट्याइएको १ करोड ५० लाख बजेटका लागि सम्झौता भएको हो ।
निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्साल र पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलबीच सम्झौता पत्रमा हस्ताक्षर गरी वन्यजन्तु उद्धार केन्द्रका लागि काम सुरु गर्ने सहमति भएको हो । वन्यजन्तु उद्धार केन्द्रमा मृगको इनक्लोजर, वन्यजन्तुका लागि पानी ट्यांकी, बाँदरका लागि इनक्लोजर र विभिन्न इनक्लोजरसम्म पुग्ने गोरेटो बाटो निर्माणमा ९६ लाख २५ हजार २ सय ७ रुपैयाँ सम्झौता भएको छ ।
आगामी असार भित्र सम्पन्न गर्ने योजनामा स्थानीयको सहयोग अनिवार्य हुनुपर्ने निर्देशनालय गण्डकीका प्रमुख लम्सालले बताए । जुलोजिकल पार्कमा दोस्रो चरणमा मयुरको इनक्लोजर, घाइते बन्यजन्तुको उपचार कक्ष, विरामी तथा घाइते जनावर बोक्ने स्वचालित स्ट्रेचर, हिमालयन थारको इनक्लोजर, भालुको इनक्लोजर, उद्धार कक्षको प्रवेशद्वार निर्माणका लागि सम्झौता गरिने पोखरा जुलोजिक पार्कका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।




