विश्व फुटसल खेल्दै नेपाल

नेपाली फुटसल टोली फुटसल विश्व च्याम्पियनसिपमा छनोट भएको छ ।

अब नेपाली टोलीले अर्जेन्टिनामा मार्च ३१ बाट अगस्ट ७ सम्म हुने फुटसल विश्व च्याम्पियनसिपमा सहभागिता जनाउनेछ। १२ औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाल एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट भएको नेपाल फुटसल संघका उपाध्यक्ष सन्तोष पराजुलीले बताए ।

च्याम्पियनसिपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी हुने छन् । विश्वका महारथिहरुसँग खेल्न पाउँदा नेपाली खेलाडीका लागि म्याच एक्सपोजर हुने उपाध्यक्ष पराजुलीले बताए ।

च्याम्पियनसिपमा नेपालसहित अर्जेन्टिना, अस्ट्रेलिया, क्यानडा, क्षटालोनिया, फ्रान्स, इटाली, पाराग्वे, रसिया, दक्षिण अफ्रिका, उरुग्वे, पाकिस्तान र कोलम्बिया सहभागी हुने छन् ।

नेपाली टिम छनोटका लागि शुक्रबार राष्ट्रिय खेलकुद परिषदस्थित राखेपको कभर्डहलमा खुला छनोट प्रतियोगिता हुनेछ । १२ सदस्यीय टोली यसअघि नै रहे पनि पुन खुला छनोट गरिन लागेको उनले बताए । १२ खेलाडी र ५ जना अफिसियलसहित प्रयोगितामा भाग लिन जाने छन् ।

नेपाल फुटसल संघ २०१६ मा स्थापना भएको हो । स्थापनापश्चात नै नेपालले श्रीलंकामा भएको तेस्रो साफ फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउँदै दोस्रो स्थान हात पारेको थियो ।
नेपालले २०१८ मा पाकिस्तानमा ब्राजिल, टर्की, पाकिस्तान र नेपाल सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हात पारेको थियो । यही प्रतियोगिताबाट नेपालले एसोसिएसन मुन्डियल डि फुटसल (एएमएफ) को पूर्ण सदस्यता प्राप्त गर्न गरेको थियो ।