बेलायत सरकारले गोरखा सैनिकहरुमाथि विभेद गर्ने गरेका समाचार बाक्लै आइरहेका बेला एउटा सुखद र गौरवपूर्ण उपलब्धी एक गोरखा सैनिकले गरेका छन् ।
स्याङजाका देवेन्द्र आले बेलायती सेनाको लेफ्टीनेन्ट कर्णेलमा बढुवा हुने पाँचौं नेपाली बनेका छन् । ३० वर्षदेखि बेलायती सेनामा रहेका आले बेलायती सेनाको यो उच्च पदमा पुग्ने पाँचौं भाग्यमानी गोरखा सैनिक बन्न पुगेका छन् ।
स्याङजा घर भएका उनी गएको बिहीबार मात्र कर्णेल पदमा बढुवा भएका हुन् । स्याङ्जा बहाकोट भञ्ज्याङका आलेका चार पुस्ता सैनिक छन् । उनका पिता मोतीप्रसाद पनि ब्रिटिस गोरखा सैनिकमा क्याप्टेन भएका थिए ।
उनका हजुरबुबा प्रजातन्त्र सेनानी हुन् । सिंगापुरमा जन्मिएका उनको पढाई भने हङकङ र नेपालमा भएको थियो । हङकङको स्कुल पढेका उनले अमृत साइन्स कलेज काठमाडौंमा आइएसी गरेका हुन् । त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दा पढ्दै उनी बेलायती सेनामा क्लर्क पदबाट भर्ना भएका थिए ।
यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा बेलायती सेनाको लेफिट्नेन्ट कर्णेल पदमा पुगेका थिए । सो पदमा पाँचौ नेपाली बनेका आलेले करिब तीन वर्षपछि अवकाश पाउने छन् । ब्रिटिस सेनामा आफूले पाएको यो सफलता सिङ्गो नेपालीको सफलता र गौरव भएको आले बताउँछन् ।




