नेता खड्गबहादुरका छोरा गोलीसहित पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विश्वकर्मा गोलीसहित पक्राउ परेका छन् ।

बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा उनलाई पक्राउ गरेकाे हाे । विश्वकर्माको साथमा रहेको झोला चेकजाँच गर्ने क्रममा नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विश्वकर्मा विराटनगर विमानस्थल हुँदै यती एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जान लागेका थिए । विमानस्थल भित्र हुने चेकजाँचका क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् । 

पक्राउ परेका विश्वर्मालाई मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएकाे छ ।