मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र सहमति आवश्यक छः अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यक भएको बताएका छन् ।

चितवनको खैरहनीमा बिहीबार कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । उनले शिक्षा नै विकास र समृद्धिको आधार भएको भन्दै शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार सुनिश्चित नभई एउटा राष्ट्रमा समृद्धिको कल्पना गर्नु निरर्थक हुने धारणा राखे।

अध्यक्षले भने , ‘उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेर अब त्यसलाई विधेयकमा परिवर्तन गर्ने र संसदबाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको छ । सबै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने लक्ष्य पूरा गर्ने दिशामा हामी छौं ।’

निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच शिक्षाको सन्तुलन कसरी मिलाउने भन्नेमा पार्टी र सरकारको ध्यान केन्द्रित भएको उनको भनाई छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र निजी क्षेत्रलाई नियमन गर्दै लैजानेतर्फ पार्टीको ध्यान गएको उनले जानकारी दिए ।

‘राजनीतिक स्थिरताको वातावरण बनाइएको छ । अहिले समृद्धि र विकासको निम्ति सबै क्षेत्रमा हामीले संविधानमा व्यवस्था गरे अनुसार शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताका आधारभुत क्षेत्रहरुलाई मौलिक अधिकारको रुपमा कानुनतः व्यवस्था गरिएको स्थिति छ,’ अध्यक्ष प्रचण्डले
भने , ‘कानुनमा व्यवस्था भए अनुसार यो क्षेत्रमा प्रभावकारी कार्यान्वयनतिर जाने चुनौती हाम्रो अगाडि छ । त्यसले राष्ट्रिय एकता र सहमतिको माग गरेको छ । हामी त्यो दिशातिर अगाडि बढ्ने संकल्पमा छौँ ।’