दाल भात तरकारीको ‘भिजिट भिसामा…’

आउँदो वैशाखको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र दाल भात तरकारी’ अहिल्यैदेखि चर्चामा छ । नहोस् पनि किन ? यसको गीत जो हिट भइरहेको छ । चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसा’मा बोलको गीतले युटुबमा मात्र होइन, टिकटकमा पनि राम्रै चर्चा पाइरहेको छ ।

अहिले टिकटकमा चलचित्रको गीत हिट हुँदा निर्माताहरु यसले चलचित्रलाई फाइदा पुग्ने सोच्छन् । चलचित्रका निर्माता किरण केसीले यो गीतलाई टिकटकमा पनि खुबै रुचाइएको र १० हजारभन्दा बढी भिडियो बनेको दाबी गरेका छन् ।

किरण केसीले दाबी गरिरहँदा यो गीतले युटुबमा पनि राम्रै चर्चा पाइरहेको छ । युटुबको ट्रेन्डिङको पहिलो नम्बर र दोस्रो नम्बरमा तलमाथि गरिरहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाई बढी रुचाइएको छ । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, आँचल शर्मा र पुष्पल खड्कालाई भिडियोमा देख्न सकिन्छ । नायिका निरुता सिंहले लामो समयपछि चलचित्रको गीतमा नृत्य गरेका कारण पनि दर्शकका लागि यो गीत विशेष बनेको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।