सेवा शुल्क नहटाउन मजदूर युनियनहरुको चेतावनी

रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल(रेबान)ले सेवा शुल्क खारेज गरेपछि अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरा मजदुर संघले रेस्टुरेन्ट सञ्चालकलाई धम्कीसहितको पत्र पठाउन थालेका छन् ।

आन्दोलित भएका मजदुरले रेस्टुरेन्टका सञ्चालकलाई रेबानले जारी गरेको विज्ञप्तिप्रति आफ्नो आधिकारिक धारणा २४ घन्टाभित्र प्रष्ट पार्न र रेबानकै धारणा आधिकारिक भए प्रतिकारमा उत्रने चेतावनीसहितको पत्र पठाएका छन् ।

रेस्टुरेन्ट सञ्चालकका अनुसार काठमाडौं उपत्यकाका अधिकांश सञ्चालकलाई धम्कीयुक्त पत्र पठाइएको छ । रेस्टुरेन्टभित्रैका मजदुर युनियनका शाखामार्फत पत्र पठाइएको हो । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान नेपाल) को सोमबार सम्पन्न भेलाले १० प्रतिशत शेवा शुल्क हटाउने निर्णय गरेको थियो ।

सेवा शुल्क खारेजीपछि मजदुर संघले बुधबार दरबामार्गमा विरोध गर्दै रेबानको विज्ञप्तिसमेत जलाएका छन् । मजदुर युनियनको विरोधका बाबजुद रेबानले भने शुल्क खारेजीको निर्णय फिर्ता नलिने बताएका छन् ।

रेबानका महासचिव अरनिको राजभण्डारीले उपभोक्तालाई सस्तोमा सेवा दिन गरिएको निर्णय फिर्ता नहुने बताए । ‘यो निर्णयले आम उपभोक्ता खुसी भएका छन् । यो निर्णयबाट ब्याक हुन सकिन्न । रेस्टुरेन्टमा कार्यरत मजदुरलाई न्यूनतम तलब र सामाजिक सुरक्षा दिन तयार छौं । हाम्रो मजदुरलाई खुसी बनाएर उपभोक्तालाई पनि खुसी बनाउन चाहन्छौं,’ उनले भनेका छन् ।

राजभण्डारीले उपभोक्ता खुसी भएर दिने टिप्स प्रवृतिलाई प्रोत्साहन गर्न चाहेको बताए । ‘सेवा शुल्क मात्रै खारेज भएको हो । योसँगै उपभोक्ता खुसी भएर दिने टिप्सले प्रोत्साहन पाउँछ,’ उनले भने, ‘टिप्सलाई १ ठाउँमा जम्मा पारेर सबै मजदुरलाई बाँड्ने प्रणालीको विकास गर्नेछौं ।’

सेवा शुल्क हटाउने निर्णय पूर्ण रुपमा कार्यान्वयनमा आउन बढीमा १ महिना लाग्ने रेबान पोखराका महासचिव गणेशबहादुर थापाले बताए । ‘क्रमिक रुपमा हटाउने भनेका छौँ । कति ठाउँमा हटिसक्यो, कति ठाउँमा बिलिङ सफ्टवेयर लगायत कुरा मिलाउनुपर्ने हुन सक्छ’, थापाले भने, ‘यो निर्णय उपभोक्ताको हितमा छ । कार्यान्वयन गर्नकै लागि निर्णय गरेका हौँ ।