पद्म नर्सिङ होममा नर्सिङ दिवस

मंगलबार देशभर विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।

‘सुरक्षित कार्य क्षेत्र, स्तरीय नर्सिङ सेवा” भन्ने नाराका साथ पोखराको न्युरोडमा रहेको पद्म नर्सिङ होममा कार्यरत नर्सले ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाएका छन् । पद्यमा अन्तक्र्रिया र सम्मान कार्यक्रम भएको छ ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय सदस्य जितेन्द्र पौडेलले नर्सिङ पेसालाई अहिले सम्मानजनक रुपमा हेर्न थालिएको बताए । उनले अझै जिम्मेवार भएर अगाडि बढ्न नर्सहरुलाई सुझाव दिए ।

पद्म नर्सिङ होम प्रालिका सहायक व्यवस्थापक नरेश पौडेलले अस्पतालमा भर्ना भएका बिरामीको जिम्मेवारी नर्सहरुकै हातमा रहने भएकाले बिरामीको आत्मबल बढ्ने गरी व्यवहार गर्न सुझाए । नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्यले नर्सहरुले अध्ययन सक्नेबित्तिकै विदेश नै जानुपर्छ भन्ने मानसिकता त्यागेर दूरदराजका जनताको सेवा गर्छु भन्ने अठोट गर्नुपर्नेमा जोड दिए ।

सर्जिकल वार्डका इन्चार्ज गंगा थापाको अध्यक्षतामा भएको कार्यक्रममा पद्म नर्सिङ होम प्रालिका मेट्रोन रजनी पालिखे, मेडिकल वार्डका इन्चार्ज लक्ष्मी कुँवर र स्टाफ नर्स अञ्जना थापाले बोलेका थिए ।

कार्यक्रममा अग्रज नर्सहरु राधा गुरुङ, गंगा थापा, लक्ष्मी कुँवर लगायतलाई सम्मान गरिएको थियो । नर्सको पेशागत हकहित र सुरक्षाका लागि २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको हो । नर्सिङ संघ स्थापनाको दिन हरेक वर्ष राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिएको छ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिंगेलको जन्मोत्सव मे १२ मा मनाउने गरिन्छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, भोलेन्टियर सेवा गर्नु पर्ने बाध्यता, काम र तलबमा विभेद हुनु जस्ता कठिनाइ अहिले नर्सहरुले भोगिरहेका छन् ।