सिस्नो र सालको पातबाट जीविका

जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरकी इन्द्रा ओली अचेल निकै खुशी छन् । दुई वर्ष पहिलासम्म बारीमा सिस्नो उम्रँदा लौराले चुटेर फाल्ने इन्द्रा अहिले त्यही सिस्नोको संरक्षणमा जुटेकी छन् ।

समुदायमा सिस्नुलाई गरीबले खाने वस्तु हो भनेर हेला गरिन्थ्यो । बहुसरोकारवाला वन कार्यक्रमले समुदायलाई सिस्नुको महत्व बुझाएपछि सिस्नु संरक्षणमा जुटेको इन्दाले बताइन् ।

छुँदा पनि पोल्ने सिस्नो यत्तिको उपयोगी होला भन्ने कल्पनासमेत नगरेकी इन्द्राले हिजोआज प्रतिकिलो आलो सिस्नो रु ४० मा बेच्न थालेकी छन् । घण्टेश्वरकी इन्द्रा सिस्नोको उपयोगिता देखेर दङ्ग परेजस्तै डोटीकै केआइसिंह गाउँपालिका–५ रानागाउँकी भागा नेपाली सालको पातको उपयोगिता देखेर मख्ख छिन् ।

सालको पात प्राङ्गारिक मल बनाउन मात्र उपयोग हुन्छ भन्ने ठान्नुभएकी भागाले सालको पात बिक्री हुन थालेपछि यसको थप उपयोगिताबारे जानकारी पाइन् । भागा बस्तुभाउ चराउन जङ्गलमा जाँदा पनि सालको पात सङ्कलनमा लाग्छिन् ।

भन्छिन्, “जङ्गलमा गोरु चराउन जाँदा, सालको पात टिपेर आम्दानी पनी गरिरहेकी छु । दिनमा १०÷१५ किलो पात सङ्कलन गर्न सकिन्छ प्रतिकिलो १५ रुपैयाँमा बिक्री हुन्छ ।” इन्द्रा र भागा मात्रै होइन नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय स्रोतसाधन बाटै राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरु जस्तै धेरै महिला खुशी भएका छन् ।

‘फवार्ड नेपाल र ग्रामीण विकास केन्द्र’को साझेदारीमा वनमा आधारित वहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत डोटी जिल्लामै पहिलोपटक सिस्नो प्रशोधन र दुनाटपरी उद्योग शुरु भएको हो ।

केआइसिंह गाउँपालिकाको रानागाउँ र जोरायल गाउँपालिकाका–२ छत्तिवनमा दुनाटपरी उद्योग, सोही गाउँपालिकाको सरस्वतीनगर, घण्टेश्वर र सायलगाउँपालिकाको डौडमा सिस्नु प्रशोधन उद्योग तथा बडीकेदार गाउँपालिका–१ जोरायलको छत्तिवनमा दुनाटपरी उद्योग सञ्चालनमा रहेका छन् ।

जिल्लाकै ग्रामीण भेगमा सानारुपमा शुरु भएका उद्योगले सानै परिमाणमा भए पनि आम्दानी शुरु गरेका महिला वहुसरोकारवाला कार्यक्रम देशबाटै बाहिरिएपछि दुःखी पनि भएका छन् । नमूना सिस्नो प्रशोधन उद्योगकी सञ्चालक इन्द्र ओली भन्छिन्, “कामको शुरुआत राम्रै भएको छ, तर यसलाई निरन्तरता दिनसक्ने र दिगोपनामा हाम्रा लागि चुनौती छ । कार्यक्रम न बाहिरिएको भए धेरै राम्रो गर्न सकिन्थ्यो ।” सन् २०२२ सम्म चल्ने भनिएको उक्त कार्यक्रम हाल नेपालबाटै बाहिरिएको छ ।