हवानामा शक्तिशालीआँधी, कम्तिमा १७२ जना घाइते ३ को मृत्यु

क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले सोमबार बताएका छन् ।

क्यानेलले ट्वीटरमा लेखेका छन्, “आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन् । घटनास्थलमा सयौँको सङ्ख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटिरहेका छन् ।”

आँधीका कारण हवानाका कैयौँ नगरहरूमा विद्युत आपुर्ति अवरूद्ध भएको छ भने कैयौँ भौतिक संरचनामा क्षति पुगेका हवानाबाट प्राप्त समाचारमा जनाइएको छ । व्यापक बर्षासाथ आएको आँधी प्रतिघण्टा १०० किलोमिटरको गतिमा आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ ।

क्युवामा आँधीबाट हरेक बर्ष दर्जनौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । सन् १९४० को डिसेम्बरमा पश्चिमी शहर वेजुकालमा आएको आँधीलाई क्युवाको इतिहासमा सबैभन्दा प्रलयकारी मानिने गरेको छ । (रासस÷सिन्ह्वा)