एजेन्सी– अमेरिकाले अन्तरिक्षमा पहिलो पटक होटल बनाउन लागेको छ । २०२१ मा होटलको स्थापना गरेर २०२२ देखि गेस्ट लैजाने योजना अमेरिकाको छ ।
१२ दिनको स्पेट ट्राभल टुरमा छ जना यात्री होटलमा बस्न सक्छन् । होटलमा जान एक व्यक्तिलाई ९.५ मिलियन डलर रुपैयाँ खर्च लाग्ने छ ।
होटलको नाम अरोरा राखिएको छ । यो होटल अमेरिकाको ओरायन स्पान कम्पनीले निर्माण गर्नेछ ।
ओरायन स्पानका संस्थापक तथा सिइओ फ्रेंक बन्जरका अनुसार सर्वसाधारणलाई पनि अन्तरिक्षमा पुर्याउने उद्देश्यले यो होटल स्थापना गर्न लागिएकाे हो ।
बन्जरका अनुसार स्पेस होटलमा जाने व्यक्तिले पहिले २ वर्षको ट्रेनिङ लिनुपर्छ, जसमा तीन महिनाको ओरायन स्पेस एस्ट्रोनाउट सर्टिफिकेसन प्रोग्राम पनि समावेश गरिएको छ । अरोरा स्टेशन पृथ्वीबाट ३२१ किलोमिटरको दुरीमा रहनेछ ।
अरोरा स्टेशनमा जाने व्यक्तिलाई इन्टरनेटको समेत सुविधा हुने बताइएको छ । होटलमा हाइस्पिड वायरलेस इन्टरनेटको सुविधा हुनेछ । होटलबाट पृथ्वीमा फर्किने व्यक्तिलाई भव्य स्वागत समेत गरिनेछ ।
होटलको लम्बाई ३५ फिट र चौडाई १२ फिट हुनेछ । यसमा स्लिपिङ प्याड्स र उच्च गुणस्तरयुक्त स्पेस फुड उपलब्ध गराइने छ ।
यो बाहेक टेक्सासको एक कम्पनी एक्सियम स्पेसले २०२४ सम्ममा अन्तरिक्षमा एक कमर्सिएल स्पेस स्टेशन बनाउने योजना बनाइरहेको छ । त्यस्तै ब्रिटिश बिजनेसम्यान रिचर्ड ब्रेन्सनको भर्जिन ग्यालेक्टिकले पनि मानिसलाई अन्तरिक्ष भ्रमण गराउने घोषणा गरेको छ । यसमा प्रतियात्री १.५ लाख डलर खर्च हुने बताइएको छ ।




