पश्चिमी वायूको प्रभाव,बुधबारदेखि फेरि पानी पर्ने सम्भावना

 केहि दिनदेखि रोकिएको वर्षात फेरि दोहोरिने भएको छ । गत सातादेखि जारी पश्चिमी वायूको प्रभाव यो साता पनि कायम रहने देखिएको छ । बुधबारदेखि फेरि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अघिल्लो सोमबार आएको पश्चिमी वायूको प्रणालीले देशभर कहीं वर्षा र कहीं भारी हिमपात भएको थियो । त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो । त्यसले शुक्रबार र शनिबार वर्षा गराएको थियो । त्यो प्रणाली आइतबारदेखि कमजोर भए पनि अर्को प्रणाली आइरहेकाले बुधबारदेखि फेरि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘अस्तिको प्रणालीको प्रभावले आज पनि पहाडी क्षेत्रमा बादल र केही ठाउँमा वर्षाको सम्भावना छ,’ मौसमविद् सुवास रिमालले भने, ‘पर्सी नेपाल पुग्ने गरी अर्को प्रणाली आइरहेको छ । त्यो पनि कमजोर छैन । वर्षाको सम्भावना छ ।’

उनका अनुसार यो प्रणाली अहिले इरानको आकाशमा आइपुगेको छ। यसपालि आएको पश्चिमी वायूको यो चौथो प्रणाली हो । पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो । ‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन । यसपालि लगालग आइरहेको छ,’ रिमालले भने ।