६५ लाखमा गल्कोटको नरेठाँटीमा सभा हल

बागलुङ जिल्लाको गलकोट नगरपालिका २ नरेठाँटीमा नगरसभा हल बन्ने भएको छ । नगरसभा हलको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शिलन्यास गरेका थिए ।

नगरप्रमुख गैरेले आर्थिक पारदर्शिता, आर्थिक मितव्यीतता र कामको गुणस्तरियतालाई ध्यानमा राखेर सभाहल समयमै निर्माण गर्न निर्माण समितिलाई आग्रह गरे ।

नगरसभा हल निर्माण समितिका अध्यक्ष यमबहादुर श्रीसले निर्माण कार्य तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । नगरसभाहलको योजना नरेठाटीमा पर्नु स्थानियबासीको लागी खुसीको बिषय भएको बताउदै श्रीसले निर्माण सामाग्री देखि हरेक कार्य पारदर्शी र गुणस्तरीय तरिकाले गर्ने उल्लेख गरे ।

वाड कार्यालयसँग जोडिएको पुरानो गाविस भवन भत्काएर सभाहल निर्माण गर्न सुरु गरिएको वाड अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । ४३ फिट लम्बाई र २७ फिट चौडाई भएर निर्माण हुने सभाहल दुई तलासम्म बन्ने बताइएको छ । नगरपालिकाको नगरगौरव योजना अन्तर्गत ६५ लाखमा लागतमा निर्माण कार्य सुरु गरिएको वाड सदस्य घनश्याम कुवँरले बताए ।

पहिलो तलमा महिला र पुरुषका लागी दुई ओटा शौचालय, काउन्टर कक्ष र अन्य चार कोठा रहने भएका छन भने उपल्लो तलमा टस राखेर जस्ताको पाताले छाएर करिब १ सय २० भन्दा बढि मानिस अट्ने हल निर्माण गरिने अध्यक्ष भण्डारीले बताए ।