सिटी रेवान महोत्सवका लागि विभिन्न उपसमिति

पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराको आयोजनामा हुने सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबलको तयारीलाई तीव्र पारिएको छ । फागुन १७ देखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।

रेवान अध्यक्ष दीपक तिमिल्सिनाको मूल संयोजकत्वमा १२ वटा उपसमिति चयन गरिएको छ । अतिथि व्यवस्थापनमा धर्मबन्धु सुवेदी, प्रचारप्रसारमा जीवन दाहाल, सचिवालयमा सागर लुइँटेल, अनुगमनमा चिरञ्जीवी श्रेष्ठ, सुरक्षा तथा संघसंस्था समन्वयमा केपी शर्मा पाध्या, कानुनी परामर्शमा जगन्नाथ ढकाल, सांस्कृतिकमा यामबहादुर गुरुङलाई संयोजक तोकिएको छ ।

स्टल व्यवस्थापनमा पार्वती जिसी, आर्थिक व्यवस्थापनमा रामप्रसाद ज्ञवाली, बाल उद्यानमा दयाराम सापकोटा, खाजा, खाना तथा रेस्टुरेन्ट व्यवस्थापनमा प्रकाश सुवेदी, व्यानर व्यवस्थापनमा प्रेम सापकोटा, स्टल अनुगमनमा पीताम्बर पौडेल, स्वास्थ्य उपचारमा देवेन्द्र लम्साल, पानी तथा सरसफाइमा यमनाथ ढकाल, साउन्ड सिस्टममा अर्जुन खनाल, टिकट व्यवस्थापनमा डिल्लीराम पाण्डेलाई संयोजक तोकिएको महासचिव जीवन दाहालले बताए ।

‘महोत्सव तयारीलाई तीव्र बनाइएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘सम्पूर्ण उपसमितिले आफ्नो जिम्मेवारी अनुसार काम गर्न सुरु गरिसकेका छन् ।’ सिटी रेवान महोत्सवसँगै यस वर्ष क्यान कास्कीको सहकार्यमा दसौं क्यान इन्फोटेक पनि हुनेछ ।