८विधेयक पास, बन्यो शक्तिशाली लेखा समिति

पोखरा महानगरको चौथो नगरसभाले शुक्रबार पेस भएका ८ वटा विधेयक सर्वसम्मत पारित गरेको छ । पोखरा १९ का वडाध्यक्ष तथा विधान समितिका संयोजकसमेत रहेका शोभामोहन पौडेलले नगरसभाको पहिलो दिन विधेयक प्रस्तुत गरेका थिए ।

शुक्रबार नगरसभामा प्रस्तुत भएको विधेयकउपर शनिबार छलफलपछि आइतबार सर्वसम्मत पारित भएको महानगरका प्रवक्ता नेपालीले जनाए ।

नगरसभामा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने, खेलकुद विकास, नगर प्रहरी, पर्यटन विकास, पूर्वाधार व्यवस्थापन, सुशासन, आर्थिक ऐन र सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएका हुन् । यो नगरसभामा महानगरका पदाधिकारीको आचारसंहिता पनि सर्वसम्मत पारित भएको छ ।

नगरसभाले लेखा समिति गठन गरेको छ । आइतबार सकिएको नगरसभाले पोखरा २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला, वडा २६ वडाध्यक्ष नारायणप्रसाद बराल, वडा २९ वडाध्यक्ष चेतबहादुर गुरुङ र वडा नम्बर ६ सदस्य राममाया विश्वकर्मा छन् । समितिले महानगरबाट भए गरेका कामको अध्ययन, अनुगमन गर्ने बताइएको छ ।