जानकी मन्दिरको बिघौंबिघा जग्गा गायब

जनकपुरलाई विश्वसामु चिनाउने एउटै आधार हो जानकी मन्दिर। तर संरक्षकहरूले नै जानकी मन्दिरको बिघौं जग्गा गायब बनाएका छन्। अर्बौं सम्पत्ति भएपनि मर्मत तथा पूर्वाधार निर्माण गर्न जानकी मन्दिर अहिले दाता गुहारिरहेको छ।

प्रो. पब्लिक काठमाडौंको २०६२ को रिपोर्टअनुसार त्यसबेलासम्म मन्दिरको २० बिघा जग्गा अतिक्रमण भएको थियो। त्यसयताका १३ वर्षमा थप कति जग्गा मिचियो, कुनै अध्ययन भएको छैन।

गुठी संस्थान जनकपुर शाखा कार्यालयको तथ्यांकअनुसार मन्दिरको गुठी तैनाथी जग्गा १४२ बिघा १४ कठ्ठा ६ धुर छ। तर मन्दिर अधीनस्थ जग्गा १३३ बिघा ८ कठ्ठा १८ धुर मात्र छ।

नापी हुँदै जानकी मन्दिरको ४४५ बिघा १५ कठ्ठा ७ धुर जग्गा रैतानी नम्बरी भइसकेको छ।मन्दिरको स्वामित्वमा सयौँ बिघा जमिन छ। त्यसको संरक्षणको जिम्मा गुठी संस्थान, महन्थ, पुजारीले पाएका छन्।

तर भू–माफियाले व्यवस्थापन पक्ष, प्रशासन र राजनीतिक दललाई मुठीमा लिएर मन्दिरका जग्गा बिक्री गरिरहेका छन्।

पहिले राम मन्दिर र जानकी मन्दिरका दुई प्रमुख गुठीसँग अन्य दर्जनौं मठमन्दिरका जग्गा थिए। तिनका महन्थले मन्दिर चलाउन आफ्नो स्वामित्वको खाली जग्गा मनखप (किसानले एक वर्षमा उक्त जग्गामा खेती गरी मन्दिरलाई ४० मन अन्न उपलब्ध गराउनु पर्ने सर्त) मा दिने गर्थे।

मनखपको आम्दानीबाट मन्दिरको धार्मिक उत्सव, पूजा, पर्व, जात्राको चाँचोपाँचो मिलाइन्थ्यो। मनखपबाटै सुरु भयो, मठ मन्दिरको जग्गा हत्याउने चलन। विसं २०४४ देखि २०५१ सालसम्म किसानलाई जानकी मन्दिरले दिएको मनखप जग्गा यसबेला नम्बरी भइसकेका छन्। मनखप पाएकाहरू अर्बौंका मालिक छन्। मन्दिरलाई भने आफ्नो भरणपोषण गर्न पनि धौधौ छ।