योगेशले गरे यस्तो ‘अफर’ ,गोविन्द केसीले अनशन बस्नु नपर्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएकाले डा. गोविन्द केसीलाई उत्सव मनाउन आग्रह गरेका छन् । संसद भवनमा सञ्चाकर्मीहरुसँग बोल्दै भट्टराईले देशले क्रान्तिकारी फड्को मारेकाले सबैले खुशीयाली मनाउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कडा प्रतिरोधका वावजुद आज प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ। कांग्रेसले विरोध जनाइरहँदा सत्तारुढ दलले विधेयक पास गरेको हो ।

भट्टराईले विधेयक पास भएको उत्साही हुनुपर्ने बताउँदै प्राध्यापक डाक्टर गोविन्द केसीका माग विधेयकले सम्बोधन गरेको दावीसमेत गरेका छन्।

सांसद भट्टराईले भने, ‘डा. केसीलाई भन्न चाहन्छु, तपाईको सतप्रतिशत जित भएको छ । अनसनबाट निस्कनुस्, खुसी मनाउनुस् ।’

उनले अब डा. केसीले जिन्दगीभर अनसन बस्नु नपर्ने दाबी गरे । उनले भने, डा. केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ ।’

सांसद भट्टराईले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुनै हालतमा विचल्लीमा नपर्ने दाबी गरे ।

उनले भने, आजै कार्यबाहक प्रधानमन्त्रीले स्पष्टीकरण दिने योजनामा थियौं तर, अवरोधका कारण बोल्न पाउनु भएन । तर, म भन्न चाहन्छु, तनहुँ र बाँकेका दुबै अस्पताल विचल्लीमा पर्ने छैन बजेट व्यवस्थापन गरेर सञ्चालन गर्छ ।’