डा. केसी समर्थक र प्रहरीबीच बानेश्वरमा झडप, थापासहित २५ जना पक्राउ

अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले राजधानीको नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले प्रदर्शन गरेका छन् ।

सो क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो । त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने अन्यमा विवेकशीलका सदस्यहरु शशी बिक्रम कार्की, अजिता राई, डा दिनेश प्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायत रहेका छन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । 

बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेले डा केसीसँग १५ औँ अनसनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।