यी हुन् मलेसियाको १६ औं राजा

मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्ला अहमद शाहलाई निर्वाचित गरेको छ ।

संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाका १६ औं राजा भएको अधिकारीले जनाएका छन् ।

राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाए अनुसार आगामी बिहीवार उनले पद बहाली गर्नेछन् । यसअघिका राजा सुल्तान मुहम्मदले जनवरी ६ मा राजीनामा दिएपछि नयाँ राजा चयन गरिएको हो ।

मुस्लिम बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयाअवधि नसकिँदै राजीनामा दिने उनी पहिलो राजा हुन् । उनले रूसकी पूर्वसुन्दरीसँग विवाह गरेकाले राजीनामा दिएका हुन् । यद्यपि यसबारेमा औपचारिक रूपमा कुनै जानकारी दिइएको छैन । राजीनामा घोषणा गर्नु अघि ४९ वर्षीय राजा सुल्तानले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए ।

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्ला पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका हुन् ।-सिन्ह्वा