आजको बैठकमा मुठमेडको संकेत

आज सरकारले प्रतिपक्ष दलको अवरोधका बीच चिकित्सा विधेयक पारित गर्ने तयारी गरेको छ ।

आज बस्न लागेको प्रतिनिधिसभा बैठकमा चिकित्सा विधेयक पारित गर्ने सरकारको तयारी भईरहँदा आज बस्ने बैठकमा के के होला भन्ने उत्सुकता देखिएको छ भने मुठमेडको अवस्था आउँन सक्ने पनि देखिएको छ ।

कांग्रेसले आफुहरुको माग पुरा नहुञ्जेलसम्म चिकित्सा विधेयक पारित हुन नदिने अडान लिएको छ भने सरकार जसरी हुन्छ पारित गर्ने रणनितीमा छ । उता सभामुख कृष्ण प्रसाद महराले भने आज विधेयक पारित भएरै छाड्ने बताएका छन् ।

उता कांग्रेसले सभामुखको भुमिकाप्रति नै गम्भिर आपत्ति जनाउँदै उनकै कारण संसदमा मुठमेड हुन सक्ने भनी चेतावनी दिईसकेको छ । सभामुख एउटै पार्टीको मात्र जस्तो देखिएको भन्दै आपत्ति जनाईसकेको छ । कांग्रेसका नेता तथा सांसद गगन थापाले सांसद अवरुद्ध गर्दा देखिएको घटना नदोहोरियोस भन्नेमा कांग्रेस सजग रहेको तर जबरजस्ती विधेयक पारित गर्न खोजे मुठमेड हुन सक्ने संकेत दिएका थिए ।

कांग्रेसले आफ्ना पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल केन्द्र सरकार मातहतमा नराखेको र नामै परिवर्तन गर्न लागेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दे आईरहेको छ । सरकार र सभामुख दुबैले पेलेरै जाने मनसाय बनाए आफुहरु चुप लागेर नबस्ने कांग्रेसको भनाई छ ।

उता सरकार भने दुई तिहाई बहुमतको आडमा विधेयक पारित गर्ने रणनितीमा छ । नेकपाका नेता तथा योगेश भट्टराईले भने मन्त्रीलाई रोष्ट्रममा जान नदिए मन्त्री बसेकै स्थानबाट विधेयक पारित हुने भन्ने समेत अभिव्यक्ति दिईसकेका छन् ।

आज बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । उता मुठमेडको संकेत देखिएपछि मर्यादापालकको संख्या बढाउँने तयारीमा छ । अब आजको बैठकमा चिकित्सा विधेयकका लागि सत्ता पक्ष र प्रतिपक्ष दल कांग्रेस कसरी अगाडी बढ्दा , कस्तो अवस्था सृजना होला त्यसको चासो यतिबेला चौतर्फी देखिएको छ ।