बोर्डिङ स्कुल अब ट्रस्टबाट चल्छन्

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीपबिनाको शिक्षाको औचित्य नभएको बताएका छन् । बिरुवा गाउँपालिका २ मोचाबारीमा रहेको जामुनेडाँडा माविमा सञ्चालित महापुराण तथा शैक्षिक महोत्सवको छैटांै दिन मंगलबार मुख्यमन्त्री गुरुङ सरिक भए ।

उनले ५ वर्षमा हरेक पालिकामा सीपसहितको शिक्षा सुरु हुने बताउँदैे सरकारले जागिर नदिए पनि जीविकोपार्जन गर्न सक्ने शिक्षा लागु गर्ने दाबी गरे । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारको रहेको बताउँदै उनले शिक्षाको सबै काम स्थानीय सरकारले गर्ने प्रष्ट्याए ।

गास, बास, कपास, स्वास्थ्य र शिक्षा पाउने नागरिकको मौलिक अधिकार भएको बताउँदै मुख्यमन्त्री गुरुङले भने, ‘मौलिक हक व्यवहारमा उतार्न बनाइएका हुन् ।’ १५ वर्षभित्र सबै निजी विद्यालय ट्रस्टको रुपमा विकास गर्ने बताउँदै उनले रकम दिएर अन्य विकास निर्माणको क्षेत्रमा लगानी गर्ने स्पष्ट पारे ।

विकास निर्माण सडकमात्र नभएर शिक्षा पनि १ भएको बताउँदै उनले प्रदेशका ८५ गाउँपालिकामा ५ वर्षमा प्राविधिक शिक्षालय बनाउने योजना सुनाए । काठमाडौंको १ मात्र सरकारले देशभरका सबै नागरिकलाई सुविधा दिन नसक्दा ७ सय ६१ सरकार बनाएको उनको भनाइ थियो ।

संघीयता असफल भएमा देश ठूलो भड्खालोमा फँस्ने बताउँदै उनले काम नगर्ने सरकार ५ वर्षमा सकिने बताए । उनले भने, ‘पालिकाका सरकारले राम्रोसँग काम गर्नुपर्छ ।’ उनले ऐन कानुनको तर्जुमाको पहिलो वर्ष भएको तथा कर्मचारी विन्यास हुन नसकेकाले विकासको काम राम्रोसँग अघि बढ्न नसकेको स्वीकारे ।

प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन, दोस्रो ऊर्जा, तेस्रो कृषि रहेको बताउँदै प्रदेशप्रमुख गुरुङले काम गर्नेलाई सबै क्षेत्रमा सरकारले अनुदान दिन लागेको जानकारी दिए ।
प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले ऐन नहँुदा विकास निर्माणको काम अघि बढ्न नसकेको बताए ।