प्रचण्डलाई ज्वरो, बीना अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका अधिकांश सदस्य बिरामी परेका छन् । प्रचण्डलाई भाइरल ज्वरो आएको छ ।

चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम आराम गरिरहेका छन् । उनलाई चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । यसैबीच सुमेरु अस्पताल ललितपुरमा ज्वरो र रुघाखोकी लागी भर्ना हुनुभएका अध्यक्ष दाहालकी पत्नी सीता उपचारपछि सोमबार राति घर फर्किइन् ।

खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनी सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएको उनका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिए ।