बलात्कार आरोप लागेका वडाध्यक्षको आत्मसमर्पण

बलात्कार अभियोगमा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

रेग्मीमाथि वडा नं. ८ कै २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग छ । उनले सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

ती युवतीले मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार भएका थिए । वडाध्यक्ष रेग्मीले गत कात्तिक १६ गते र त्यसअघि र पछि पनि आफूलाई पटक पटक जबर्जस्ती बलात्कार गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

रेग्मीलाई पक्राउ पुर्जी दिई सोमबार नै तनहुँ जिल्ला अदालतमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले यस्तो गरेको दाबी गर्दै आएका छन् ।