राजमार्गमा गाडी रोकेर आँखा जाँच !

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा दिउँसो ट्राफिक प्रहरी पुगे । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले । सवारी चालकहरु कारवाहीमा परिने पो हो कि भन्ने डरले झस्किए । गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, आँखा परीक्षणका लागि बोलाइएको रहेछ ।

आँखाको कमजोरीका कारण हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आइतबार सडकमै चालकको आँखा परीक्षण गरेको छ । दमौली आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १ सय १४ जना चालकको आँखा परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

ती चालकमध्ये १० जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको छ ।
उनले भने, ‘आँखामा समस्या भएमा जुनसुकै बेला पनि सवारी दुर्घटना हुन सक्छ । त्यसैलाई मध्यनजर गर्दै चालकको आँखा परीक्षण गरिएको हो ।’ उनले आँखा ठीक भए सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । चालकहरुमा ब्लडप्रेसरको समस्यासमेत देखिएको छ ।