अब्बल र मेधावी विद्यार्थीले लाइसेन्सबिनै पढाउन पाउने

 पढ्नमा अब्बल र मेधावी विद्यार्थीका लागि खुसीको खबर छ ।

त्यस्ता विद्यार्थीले बिनालाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ । विश्वविद्यालय शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान् व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको हो । अब्बल र मेधावी विद्यार्थीले शिक्षक अध्यापन अनुमतिपत्र नलिए पनि अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सिफारिस गरेको हो । आयोगको सो सिफारिसप्रति सरकारी अधिकारीहरू पनि सकारात्मक देखिएका छन् ।

स्नातकोत्तर तहमा तोकिएको विषयमा प्रथम श्रेणी, बी प्लस वा सोभन्दा उच्च ग्रेड ल्याएका व्यक्तिलाई अबदेखि माध्यमिक विषय शिक्षक हुन सक्ने व्यवस्था गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई सिफारिस गरेको हो ।

आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदनमा विभिन्न विषयमा सर्वाधिक वा तोकिएको उच्च अंक ल्याएका मेधावी व्यक्तिका लागि अध्यापन अनुमतिपत्र अनिवार्य गरिएको छैन । ती विद्यार्थीलाई प्रधानाध्यापकले स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको परामर्शमा सोझै रिक्त दरबन्दीमा बढीमा एक वर्षका लागि करारमा नियुक्ति गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा सेवा आयोगका सदस्य डा. बाबुराम अधिकारीले उच्च अंक ल्याएका विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न शिक्षक लाइसेन्स नभए पनि एक महिने संक्षिप्त सघन शिक्षक तालिम लिएपछि करारमा नियुक्त गर्ने गरी सिफारिस गर्न सुझाव दिएको बताए ।