शान्ति सङ्ग्रहालय बनाउदैँ नगरपालिका

 म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले बेनी बजारलाई सुरक्षित बनाउन बाढीको निकासका लागि व्यवधान बनेका दुई घरलाई खरीद गरेर बाढीको सहज निकास दिने र पिपलडाँडामा ‘शान्ति सङ्ग्रहालय’ बनाउने निर्णय गरेको छ । 

बेनी नगर कार्यपालिकाको बैठकले बर्खामा बजारमाथिको पाखोबाट आउने बाढीलाई सहजरुपमा निकास दिन र व्यवस्थापन गरी बेनी बजारको क्याम्पस चोकलाई सुरक्षित गर्न बाढीको निकासका लागि व्यवधान बनेका स्थानीय मीन सापकोटा र विष्णु शर्माको घरलाई किनेर बाढीको सहज निकास गराउने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले गण्डकी प्रदेश सरकारसँग लागत सहभागितामा नगरपालिका क्षेत्रबाट काठका पोललाई विस्थापित गरेर स्टिलका पोल राख्ने योजना कार्यान्वयन गर्ने, बेनपा– ४ तातोपानी र ९ गलेश्वरमा प्रहरी चौकीको भवन निर्माणमा लागत सहभागिता जनाउने निर्णय भएको छ । 

सम्पत्ति तथा भूमि करसम्बन्धी विवाद समाधानका लागि नयाँ सीमा र मापदण्ड निर्धारण गरिएको छ । बेनपा–२ पिपलडाँडामा शान्ति सङ्ग्रहालय बनाउन सम्बन्धित निकायमा सिफारिश गर्ने र विपद् व्यवस्थापन तथा आपत्कालीन अवस्थाका लागि आवश्यक वडामा सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा हेलिप्याड बनाउने निर्णय गरिएको छ ।