जाडोमा बहिरा विद्यार्थीलाई नारी जागरणको न्यानो

नारी जागरण अभियान पोखराले पोखरा महानगरपालिकाका वडा नम्बर २६ लेखनाथ स्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरुलाई शुक्रबार न्यानो कपडा र कम्बल वितरण गरेको छ ।

अभियानका सदस्य तथा सहयोगदाताको सहयोगमा संकलित २५ थान सामाग्री बहिरा विद्यार्थीहरुलाई प्रदान गरेको संयोजक अन्जु केसीले जानकारी दिइन् । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मित्रकुमारी गुरुङ सुवेदीले बहिरा विद्यार्थीहरुको विशेष शिक्षाको लागि नीतिगत व्यवस्था गर्न ध्यान दिने बताइन् । उनले विद्यार्थीको अध्ययनको लागि सहयोग जुटाउन तथा नीति निर्माणमा सहयोग गर्ने बताइन् ।

पोखरा महनगरपालिका वडा नम्बर २६का अध्यक्ष नारायण बरालले बहिरा विद्यार्थीको लागि महानगर तथा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बरालले विद्यार्थीको लागि छात्रवृति र अनुदानको रकम चौमासिक रुपमा ३३ लाख आउने गरेकोमा अहिले घटेर ६ लाखमा सिमित भएको गुनासो गरे । अध्यक्ष बरालले २ सय४९ विद्यार्थीहरु मध्ये ४० जनाले मात्र छात्रवृति पाएको जानकारी दिए । उनले विद्यार्थीहरुलाई विस्तारा,तथा दराज आवश्यक रहेको उल्लेख गरे ।

विद्यालयका प्राचार्य अनिता सिग्देलले ४६ जिल्लाका २ सय ६४ विद्यार्थी मध्ये २ सय६ जनालाई आवासीय व्यवस्था भएको जानकारी दिए । बहिरा विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुन्छ ।