संविधान संशोधन नभए सक्तामा बस्दैनौं

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए ।  मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा आज २ नं प्रदेश सरकारद्वारा आयोजित १२औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारले मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन नगरे सरकारबाट बाहिरिनसमेत तयार रहेको बताए । 

मधेशी, दलित, मुस्लिम, जनजाति लगायतमाथि अझै विभेद कायम रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले सरकारले संविधान संशोधन गर्न तयार नभए सङ्घर्षका लागि तयार रहनसमेत मधेशी समुदायसँग अपिल गरे । 

मुलुकको प्रमुख शत्रु गरीबी, बेरोजगारी र अशिक्षा रहेकाले त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध बताउँदै उनले गरीबी, बेरोजगारी र अशिक्षा अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएकाले यसलाई अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ अघि बढेको बताए । 

सरकारका तर्फबाट मधेशमा शिक्षा, स्वास्थ्य लगायतको विकासका लागि योजना अघि सारिसकेको समेत उनले स्पष्ट पारे । शहीदको बलिदानीबाट प्राप्त भएको सङ्घीयतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै उहाँले सङ्घीयता विरोधी गतिविधि र षडयन्त्रप्रति जागरुप हुनुपर्ने जिकिर गरे । 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कटौती गरेर सङ्घीयता विफल पार्ने षडयन्त्र भइरहेको आरोप लगाए । प्रदेशभित्रका बेरोजगारी युवालाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले शुरु गरिसकेको उल्लेख गर्दै उजले शहीदको सपनालाई प्रदेश सरकारले तुहिन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।