देशी, विदेशी कम्युनिस्ट आन्दोलन सखाप पार्न लागे

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बताएका छन् । देशी विदेशी शक्तिबाट कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने खेल भइरहेको उल्लेख गर्दै सिंहले यसलाई बचाउन नेता कार्यकर्तामा एकता आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रिय जनमोर्चा बागलुङद्वारा आयोजित २ दिने जिल्ला प्रशिक्षण भेलामा सिंहले नेपालका कम्युनिस्ट पार्टी भन्नेहरु बिभिन्न किसिमबाट कम्युनिस्टको मार्गदर्शन भन्दा बाहिर गइसकेकाले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।

कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने भन्दा पनि यो वा त्यो ढंगबाट सत्तामा पुग्ने काम भएकामा चिन्ता गर्दै सिंहले नेपालमा नेकपा मसालले मात्र कम्युनिस्ट आन्दोलनलाई बचाएको दाबी गरे ।
उनले कम्युनिस्ट आन्दोलन सँगसँगै नेकपा मसाललाई पनि फुटाउनका लागि रअ, भारतीय विस्तारवाद, राजावादी शक्तिले चलखेल खेलिरहेको अरोप लगाए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामबहादुर बुढा, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापा, केन्द्रीय सदस्य तथा जिल्ला समन्व्य समितिका प्रमुख राजेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, जिल्ला अध्यक्ष गौरीश्वर पाण्डे, जिल्ला सचिव भीमलाल पोखे्रल, मेखबहादुर पाइजा, वीरेन्द्र थापा लगायतले बोलेका थिए ।