केसी र विजयको अनसन र उपचार एकै अस्पतालमा

 १६ औं अनसनको १० औं दिन एकाएक स्वास्थ्यमा बढी समस्या देखिएपछि बिहीबार राति नै अनसनस्थल इलामबाट ल्याइएको डा. गोविन्द केसीको अहिले राजधानीको त्रिवि शिक्षक अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै डा. केसीको मागविरुद्ध अनसन बसिरहेका विजय थापाको पनि डा. केसी रहेकै अस्पतालमा उपचार भइरहेको छ । आठ दिनदेखि डा. केसीविरुद्ध इलामको लाकुरी चौतारामा अनसन बसिरहेका थापाको स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकोप्टरबाट आज (शुक्रबार) थापालाई काठमाडौं ल्याइएको हो ।

डा. केसीलाई भने हिजो बेलुका नै इलामबाट झापासम्म एम्बुलेन्समा ल्याएर त्यहाँदेखि सेनाको एन ए ००५५ कल साइनको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

अहिले काठमाडौं ल्याइएका डा. केसीको शिक्षण अस्पतालको आईसियुमा उपचार भइरहेको छ । केसीको उपचारमा डाक्टरको समूह नै सक्रिय छ । डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ । 

डा. केसीको स्वास्थ्य अवस्थाबारेमा त्रिवि शिक्षण अस्पतालले टोली गठन गरेको छ । त्रिवि आईसियु संयोजक डा. सुवास आचार्यको नेतृत्वमा त्रिवीले टोली गठन गरेको हो । चिकित्सकको टोलीमा सात चिकित्सक र एक नर्स सहभागी छन् ।

आचार्य नेतृत्वको टोलीमा क्रिटिकल केयरका विज्ञ डा. परमेशसुन्दर श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, मृर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, डा.रविन नेपाली, स्वासप्रश्वास विशेषज्ञ डा. पंकज पन्त र नर्स गंगा थापा छन् । 

टोलीको निगरानीमा डा. केसीको स्वास्थ्य उपचार भइरहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले जानकारी दिएका छन् । काठमाडौं ल्याइएका डा. केसीलाई भेटेर कांग्रेस नेता गगन थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, प्रहरीका उच्च अधिकारीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।