सरकारले रेल खरिद गर्ने,कति पर्ला त २ वटा रेलको मूल्य !

सरकारले सवा अर्ब रुपैयाँ खर्चर दुईवटा रेल खरिद गर्ने भएको छ। रेल विभागले दुईवटा रेलगाडी किन्न गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्ले बिहीबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेल किन्न स्वीकृति दिएपछि अब यसको प्रक्रिया औपचारिक रूपमै अगाडि बढ्ने भएको छ।

रेल विभागले भौतिक मन्त्रालयमार्फत गरेको रेलगाडी खरिद प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। मन्त्रिपरिषद्को यही पुस ३० गतेको निर्णय बिहीबार सार्वजनिक भएको हो। यस्तो निर्णयअनुसार ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुईपक्षीय सरकारबीच (जीटूजी) प्रक्रिया अवलम्बन गरेर रेलगाडी खरिद कार्य अगाडि बढाउन सैद्धान्तिक सहमति दिएको छ।’ यो स्वीकृतिपछि रेल विभागले गरेकै प्रस्तावअनुसार रेल किन्ने प्रक्रिया अगाडि बढ्नेछ।

‘सरकारसमक्ष दुईवटा रेल किन्न ५०/५० करोडका दरले एक अर्ब रुपैयाँ र पाटपूर्जासहितको खर्च गरी करिब सवा अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने प्रस्ताव गरिएको थियो’, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘सरकारले यसमा स्वीकृति दिएपछि अब हामी जनकपुरको कुर्थादेखि जयनगरसम्मको ३५ किमि दूरीमा रेल कुदाउन दुईवटा रेल खरिद प्रक्रिया अगाडि बढाउँछौं।’  विभागको योजनाअनुसार करिब १२/१३ सय जना क्षमताको यात्रुबाहक रेल किन्ने जानकारी मिश्रले दिए ।