बिनासित्ती प्रहरीले कुट्दा २ घाइते


प्रहरीको कुटपिटबाट बागलुङ गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् ।

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको कृष्णकुमारीले जानकारी दिइन् । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथि कुटपिट गरिएको हो । खत्रीको अवस्था सामान्य छ ।

कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक केशवसिंह थापाले बताए । प्रहरी दोषी देखिए कारवाही गरिने उनको भनाइ छ ।