ऋणीको मृत्युपछि कर्जा मिनाहा


तिरिसकेको साँबा, ब्याज पनि फिर्ता

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुको बैंकबाट ऋण लिएका ग्राहकको मृत्युपश्चात बाँकी कर्जा मिनाहा गर्ने भएको छ ।यसरी मृत्यु भएमा मुक्तिनाथले विगतमा बैंकलाई भुक्तानी भएको साँवा तथा ब्याज पनि फिर्ता हुने नयाँ कर्जा योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकबाट सामूहिक जमानी वा व्यक्तिगत जमानतमा बिनाधितो कर्जा लिएका ग्राहकको सो अवधिभित्र मृत्यु भएमा बाँकी रहेको रकम मिनाहा गर्दै सो अवधिमा भुक्तान गरेको सम्पूर्ण रकम मृतकको परिवारलाई फिर्ता गरिन्छ ।

यही व्यवस्था अनुरुप अन्नपूर्ण गाउँपालिका ५ झोवाङकाभीमबहादुर खत्री क्षेत्रीको मृत्यु भएपछि बाँकी कर्जा मिनाहा गर्दै विगतमा तिरेको साँवा र किरिया खर्चसमेत दिएको छ ।

साना तथा लघुबैंंकिङ कार्यक्रम अन्तर्गत शाखा कार्यालय नयाँपुलको साना तथा लघुबैंकिङ कार्यालय नयाँपुलबाट बिनाधितो व्यक्तिगत लघु उद्यम कर्जामा भीमबहादुरले २०७४ माघमा १ लाख ३० हजार लिएका थिए ।

बैंकले उनले तिर्न बाँकी १० हजार ८ सय ४७ मिनाहा गरी हालसम्म भुक्तानी गरेको साँवा तथा ब्याज १ लाख ३२ हजार ३ सय १० रुपैयाँ भीमबहादुरका परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले ऋणी सदस्यको किरिया खर्च ५ हजार पनि दिएको छ ।

मुत्तिनाथका क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, वडा ५ का वडाध्यक्ष जीवनाथ पौडेल लगायतले मृतकाका परिवारलाई चेक हस्तान्तरण गरे । भीमबहादुरको पुस २२ गते आफैंले चलाएको जीप घान्दु्रक जाने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।