प्रकृतिसँग टाढा हुँदा अनेकथरी रोग

चौथो राष्ट्रिय योग दिवश २०७५ ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नाराका साथ मंगलबार मनाइएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले पोखरा २६ लेखनाथको गण्डकी अञ्चल आयुर्वेदऔषधालयमा यही अवसरमा योग साधना कार्यक्रम गरेको छ ।

जिल्ला समन्वय समिति कास्कीको अगुवाइमा राष्ट्रिय योग दिवस मूल समारोह समिति कास्कीले सचेतनामूलक र्‍याली तथा योग साधना सभा गरेको छ ।कार्यक्रममा योगगुरु डा विकासानन्दले स्वास्थ्य क्षेत्रका सरोकारवालाबीचको समन्वय र सहकार्यले नेपालमा स्वास्थ्यको अवस्था सुधार गर्न सकिने बताए ।

‘ओरालो लागेको स्वास्थ्यको स्थितिलाई सुधार्न स्वास्थ्य क्षेत्रमा काम गर्ने निकाय बीच कार्यगत र भावनात्मक एकता आवश्यक छ,’उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई आमुल परिवर्तनका लागि क्रान्ति नै गर्न जरुरी छ ।’

पछिल्लो समयमा मानव जीवन प्रकृतिसँग बिछोडिएको कारण नसर्ने रोगको प्रकोप बढेको दाबी गर्दै उनले प्रकृतिसँग नजोडिएसम्म स्वास्थ्य रहन नसकिने उल्लेख गरे ।नेपालीको स्वास्थ्य जोगाउनु मुख्य चुनौती भएको चर्चा गर्दै उनले आम नेपालीको स्वास्थ्यको सुधार नेपाल भित्रबाटै गर्नु पर्ने धारणा राखे ।

नेपालीको स्वास्थ्य जोगाउने कोही विदेशी नआउने दाबी गर्दै उनले अनिवार्य रुपमा मानवलाई प्रकृतिसंग जोडेर मात्र स्वास्थ्य रहन सकिने दाबी गरे । डा विकाशानन्दले योग, ध्यान र साधानामा लागेर स्वास्थ्य बन्न समेत सबैमा आग्रह समेत गरे ।

सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले नसर्ने रोगबाट बच्न मन्त्रालयले नागरिक स्तरमा छलफल चलाएको बताइन् । खानपान र जीवनशैलीमा सुधार गरे स्वस्थ्य नागरिक बन्न सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री पुनले नागरिकलाई स्वास्थ्य बनाउन योगसँग जोड्ने प्रतिबद्धता जनाइन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक खेमबहादुर खड्का, सामाजिक विकास मन्त्रालयका अधिकृत नवीनकिरण भुसालले योग र पूर्वीय दर्शनलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने बताए ।

जिल्ला समन्वय समिति कास्कीमा भएको समारोहमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगर, योग गुरु डा विकाशानन्द, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, योगगुरु ऋषिराम लम्साल लगायतले योगको महत्वबारे बोलेका थिए ।