
हालै विभाजन भएको विवेकशील साझा पार्टीले २०७६ साल फागुन १५ देखि १९ गतेसम्म काठमाडौँमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीका २ संयोजकमध्ये १ उज्ज्वल थापाले हालै अर्काे पार्टी बनाएपछि विवेकशील साझा नयाँ रणनीति तय गर्ने गृहकार्यमा लागेको हो ।
थापासहित १६ केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । उनीसँगै चर्चित नेतृ रञ्जु दर्साना र प्रदेश २ का २ सभासद पनि गएका छन् ।
राजधानीमा भएको सो पार्टीको बैठकले प्रदेश नं १ को संयोजकमा अनिल भेटवाललाई चयन गरेको छ । साथै अघिल्लो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ, प्रदेश नं ५ बाट सरस्वती पन्थी भुसाल र गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारीलाई केन्द्रीय समितिमा सामेल गरिएको छ ।
‘विवेकशील साझा युवा सङ्गठन’ र ‘विवेकशील साझा महिला सङ्गठन’ गठन गरी दुवै सङ्गठनको संयोजकमा क्रमशः अब्दुस मियाँ र सोभिता परियारलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
पार्टीमा देखापरेका पछिल्ला चुनौती र आउँदा दिनमा लिनुपर्ने बाटोबारे यही माघ १२ गते काठमाडौँमा देशभरीका पार्टी प्रतिनिधि सदस्यसहित ‘विवेकशील साझा राष्ट्रिय सन्देश भेला’को आयोजना गर्ने निर्णय गरेको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।