धरमलाई ल्होसार कप टेनिस उपाधि

दोस्रो ल्होसार कप पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधि धरमबहादुर लामिछानेले जितेका छन् । मंगलबार भएको फाइनल खेलमा विकास गुरुङ ‘रिटायर्ड हर्ट’ हुँदै खेल छोडेपछि लामिछाने विजयी भएका हुन् । खुट्टामा आएको समस्याका कारण खेल छोड्दा विकासले खेलमा अग्रता कायम गरेका थिए ।

लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा पहिलो सेट ६–३ ले आफ्नों कब्जा गरेका विकासले दोस्रो सेटमा पनि ३–२ ले अगाडि थिए । आफ्नैं सर्भिरमा ४०–३० को अवस्थामा विकास घाइते भए । त्यसपछिको खेललाई निरन्तरता दिन नसक्ने भन्दै लामिछानेसँग हात मिलाएर कोर्टबाट बाहिरिएका थिए ।

लामा ब्रदर्स, लेकसाइडले तामाङहरुको सोनाम लोसार पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा नवीन चालिसे उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सहभागी जर्मनीका खेलाडी थोमसलाई पनि आयोजक समितिले विशेष पुरस्कारले पुरस्कृत गरेको थियो ।
विजयी खेलाडीलाई कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, संघका निवर्तमान अध्यक्ष विनोद कायस्थ, सल्लाहकार समिर शेरचन लगायतले नगद तथा ट्रफी पुरस्कार वितरण गरे ।

पुरस्कार वितरण समारोहमा अध्यक्ष लामाले पोखरामा हुने स्थानीय स्तरका प्रतियोगिताहरुले पोखरेलीहरुलाई टेनिस खेलप्रति मोह जगाउन तथा खेलाडीबीच भातृत्व सम्बन्ध प्रगाढ पार्न महत्वपूर्ण हुने औल्याए । प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै व्यक्तिगततर्फबाट झण्डै २२ हजार रुपैयाँ बराबरको सहयोग समेत गरे । अध्यक्ष लामाले कास्की जिल्ला टेनिस संघले आगामी फेब्रुअरी २ तारिखदेखि पोखरामा सुरु गर्न लागेको १८ वर्षमुनिको आइटीएफ टेनिस संघको महत्वपूर्ण कार्यक्रम भएको बताउँदै यसलाई सफल पार्न सम्पूर्ण टेनिस प्रेमीहरुमा आग्रह समेत गरे ।

सोही समारोहमा ओम फ्यामिलिले टेनिस खेलाडी समेत रहेका लभ इन पोखराका निर्माता शम्भु गुरुङलाई सम्मान गरेको थियो । ओम फ्यामिलिका संस्थापक सुनिल श्रेष्ठ र प्रवन्ध निर्देशक माया गुरुङले उनलाई पोखरामा छायांकन गरिएको चलचित्र विभिन्न राष्ट्रमा प्रदर्शन गर्दै पोखरालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन योगदान पु¥याएको भन्दै सम्मान गरेको हो ।