समय फेरिया, खेलकुद क्षेत्र फेरिएन : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली खेलकुद खेलाडी र प्रशिक्षकले मात्रै धानेको बताएका छन् । उनले खेलकुद संरचना पुरानै व्यवस्थापनमा चलिरहेको भन्दै समय अनुसार परिवर्तन हुदैं गएपछि नेपाली खेलुकद पुरानै ढर्राबाट चलेको स्पष्ट पारे । ‘खेलकुदका नियमहरु परिवर्तन भईरहेका छन् । तर हाम्रो पुरानै व्यवस्थापन चलिरहेको छ ।’ मुख्य मन्त्री गुरुङले भने–‘नियममा भएका परिवर्तनले यो अवस्था सम्म आउने सम्भावना छैन् । त्यसले गर्दा खेलाडी र खेल प्रशिक्षकले नेपाली खेलकुदलाई यहाँसम्म ल्याएका हुन् ।’

भर्खरै मात्रै पोखरा रंगशाला फुटबल स्टेडियम बनाउन भारतीय तथा नेपाली कम्पनीलाई छनोट गरी ठेक्का लगाइएको छ । ठेक्का अनुसार १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट निर्माण गरिदैं छ । भविष्यमा विस्तार हुने निर्माण गर्न सकिने सम्भावनालाई जिवितै राखिएको छ । यसै सन्दर्भमा मुख्य मन्त्री गुरुङले भने–‘हामीले हतारमा निर्णय गर्छौ । फुर्सदमा पछुताउँछौं ।’

झण्डै ३५ वर्षपछि पोखरामा निर्माण हुने स्टेडियमको क्षमता बढाउनुपर्ने आवाज उठिरहदाँ मुख्य मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माण हुने स्टेडियमको क्षमता बढाउनुपर्नेमा जोड दिए । ‘हतारमा बनाईने संरचनाले भविष्यसम्मलाई थेग्दैन् । बजेट आईहाल्यो बनाई हालौं भन्ने मानसिकताले हतारमा निर्णय गर्छौं ।’ पोखरा रंगशालामा मंगलबारदेखि शुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उदघाटन गर्दै भने–‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउँछौं ।’

गण्डकी प्रदेशको चाहना स्पोर्टस कम्प्लेक्स भएको बताउँदै मुख्यमन्त्री गुरुङले आगामी वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढ्ने अठोट गरे । ‘पोखरालाई स्पोर्टस सिटी होईन स्पोर्टस कम्प्लेक्सयुक्त सिटी बनाउने प्रदेशको योजना छ ।’ उनले भने–‘त्यो उद्देश्य प्रदेश सरकारले पुरा गरेरै छाड्छ ।’ उनले खेलकुदको विकासको लागि गुरुयोजना बनाउने बताउँदै प्रदेश सरकारले आगामी वर्ष आफनो क्षमताले भ्याएसम्म पुर्वाधारमा बजेट विनियोजन गर्ने सुनाए ।

पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भेन्युको रुपमा विकास गर्नुपर्ने बताए । भारत र पाकिस्तान बीचको क्रिकेट प्रतियोगिता पोखरामा गर्न सकिने स्पष्ट पारे । भारत र पाकिस्तान बीचको खेल न्युट्रले भेन्युको रुपमा युएईमा आयोजना हुने गर्छ । मुख्यमन्त्री गुरुङले युएईमा भन्दा पोखरामा सहज हुने भन्दै त्यसको लागि अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउनुपर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले खेलकुद र खेलाडीको लागि सरकारी लगानी निकै कम भएको उल्लेख गरे । ‘सरकारले खेलकुद क्षेत्रमा पर्याप्त लगानी गरेकै छैन् । त्यसले गर्दा धेरै प्रतिफलको अपेक्षा गर्नु पनि हुदैन् र प्रतिफल पनि आउँदैन् ।’ उनको भनाई थियो । पोखरा रंगशालाको फुटबल स्टेडियम दीर्घकालिन योजनासहितको बनाउनुपर्नेमा ध्यान केन्द्रीत गराए । ‘हामीले तत्कालको लागि होईन् । दीर्घकालिन सोच लिएर काम गर्नुपर्छ ।’ उनले भने–‘फुटबल प्यारापिटको क्षमता १५ हजार ५ सयबाट बढाई ३० हजारसम्मको पुर्याउन जरुरी छ ।’

उदघाटन समारोहमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलकुद र खेलाडीको लागि राज्यले पर्याप्त सहयोग गर्ने बताउँदै नेपालको राष्ट्रिय खेल सभामुख कप महिला भलिबल प्रतियोगिताले भलिबलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भलिबलसँगै समग्र खेलकुदको विकासमा ध्यान केन्द्रीत हुने स्पष्ट पारे । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले खेलकुदको विकास र विस्तारमा सबै तह र तप्काबाट सहयोग अपिरहार्य रहेको बताए ।

www.kheladinews.com