पृथ्वी जयन्तीमा बिदा नदिनुको कारण खोले मुख्यमन्त्रीले

- मुख्यमन्त्रीको पार्टी नेकपाभित्रै शाहलाई नमान्ने ठूलो पंक्ति पनि छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनारायण शाहलाई गण्डकी प्रदेशमा जन्मेका सपुतको रुपमा चित्रण गरेका छन् । शाहको नेपाल एकीकरणमा ठूलो योगदान भए पनि पृथ्वी जयन्तीमा बिदा नदिनुबारे उनले आफ्ना तर्क राखे । राष्ट्रिय सरोकारको राजनीतिक विषय पनि भएकाले गण्डकी प्रदेश सरकारले यसमा बिदा नदिएको उनले उल्लेख गरे ।

मुख्यमन्त्रीले भने, ‘यो राष्ट्रिय चासोको कुरा भो, संघले नै निर्णय गरे राम्रो हुन्छ ।’ उनले पृथ्वी जयन्तीमा शुभकामना सन्देशमात्र दिएर शाहको योगदानको प्रशंसा गरेका थिए । मुख्यमन्त्रीको पार्टी नेकपाभित्रै शाहलाई नमान्ने ठूलो पंक्ति पनि छ ।

माघे संक्रान्तिमा पोखरा १७ ढुंगेसाँघुमा मंगलबार भएको कार्यक्रममा मुख्यमन्त्रीले संस्कृतिको संरक्षण, संवद्र्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताए ।उनले प्रदेशको समृद्धिका लागि मेला, महोत्सव, संस्कृति, सम्पदा सबैलाई जोड्ने उनले प्रतिवद्धता गरे ।

सदा शिवजी हरिहर मन्दिरमा पूजासमेत गरेका मुख्यमन्त्रीले कन्दमूलका स्टलसमेत अवलोकन गरे । सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिले मेला व्यवस्थापन गरेको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थ अधिकारी, नेकपाका सुभाष ढुंगाना, नेपाली कांग्रेसका देवी आचार्य, भारतको वनारसबाट आएकी रंगीता शास्त्री, डा. लेखनाथ आचार्यलगायतले ऐतिहासिक ढुङ्गेसाँघु मेलाको महत्वलाई जीवन्त राख्न सामूहिक प्रयास आवश्यक भएकोमा जोड दिए ।

माघे संक्रान्तिमा मंगलबार बिहानैदेखि सेती नदी किनारमा स्थान गर्ने र ढुंगेसाँघु मेलामा सहभागी हुनेको भीड लागेको थियो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।