जोवाने गोरु यो वर्षको राजा

माघे सङ्क्रान्तीको अवसरमा धनकुटाको पाख्रिबास–७ मुगामा सम्पन्न गोरु जुधाई प्रतियोगितामा महसुर राईको गोरु च्याम्पियन बनेको छ ।

सात हल गोरुबीच भएको प्रतिस्पर्धामा महसुर र तेजबहादुर बानियाको गोरु फाइलनमा स्पर्धा गरेका थिए । जसमा तेजबहादुरको गोरुलाई पराजित गर्दै महसुरको गोरु च्याम्पियन बनेको हो । जोबाने र झुले नाम दिइएको गोरुबीचको फाइनल हेर्न लायक थियो । विजेता गोरु धनीले नगद १५ हजार रुपैयाँसहित खादाले पुरस्कृत गरियो । विजेता गोरुको नाम ‘राजा’ घोषित गरिएको छ ।

आउँदो वर्षको माघी मेलासम्म जोबने गोरु गाउँको राजा गोरु बन्ने छ । फाइलनमा करिब २५ मिनेटसम्म दोहोरो भिडन्त भएको थियो । भिडन्तमा कुनै गोरु पनि घाइते नबनेको प्रथम माघी मेला व्यवास्थापन समिति मुगाका अध्यक्ष गोपाल बिकले बताए । दर्शक करवीर राईले गोरु जुधाई प्रतियोगिता हेर्न लायक भएको बताए । उनले प्रदेशमै पहिलो पटक हेर्न पाएको बताए ।

विजेतालाई पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राईले नगदसहित खादा लगाई बधाइ ज्ञापन गरेका थिए ।