गीताकुमारी पन्थी एक लाख घुससहित पक्राउ

 कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थी एक लाख घुससहित पक्राउ परेकी छिन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित एनएमबि. बैंकको पार्किङ्ग एरियाबाट पन्थीलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले जानकारी दिएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहीसँग घुस रकम माग गरेको जनाइएको छ ।

सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहिसँग लिएको एक लाख घुस रकम आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएको आयोगले जनाएको छ । अख्तियारले पन्थीकी छोरी पोषण पन्थीलाई पनि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।