८० वर्षमा उजेलीले पाइन् नागरिकता

तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्क निवासी उजेली गुरुङले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा पुस २९ र ३० गते सञ्चालित घुम्ती शिविरमा गुरुङले नागरिकता लिएकी हुन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रशासनले हरेक महिना १ स्थानीय तहमा पुगी जनतालाई सेवा दिने योजना बनाएको छ । शिविरबाट १ सय १२ जनाले नागरिकताको प्रमाणपत्र बनाएका छन् । जसमध्ये ६६ जना महिला र ४६ जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

शिविरमै जिल्ला निर्वाचन कार्यालय तनहुँले सञ्चालन गरेको मतदाता नामावली संकलनमा १ सय ६४ जनाले नाम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।