निर्माण व्यवसायी संघ कास्कीको रक्तदान

नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३२ औं स्थापना दिवसमा भएको रक्तादानमा २४ युनिट रगत संकलन भएको छ ।

संघका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको खुला रक्तदानमा रक्त सञ्चार सेवा केन्द्रले प्राविधिक सहयोग गरेको थियो । नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र पाहारीले संघले मानवसेवामा रचनात्मक कार्य गरेको बताए । उनले निर्माण व्यवसायीले नाफामात्र कमाउँछन् भन्ने भ्रम समाजमा रहेको भन्दै मानवसेवामा लाग्न संघलाई आग्रह गरे ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक ओमप्रसाद गौचन, संघका सल्लाहकार अर्जुनबहादुर क्षेत्री, मुक्तिप्रसाद तिमिल्सिना, संघका पूर्व अध्यक्ष चीरञ्जिवी पोख्रेल, पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराम गौतम, पूर्व सचिव प्रकाशमोहन खनाल, अग्रज व्यवसायी आनन्द बराल, संघका उपाध्यक्ष हरि लम्साल, संघका सचिव सुवर्ण श्रेष्ठ लगायतले धारणा राखेका थिए ।