क्षत्री समाजको महाधिवेशन चैत २३ र २४ मा

क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत २३ र २४ गते पोखरामा हुने भएको छ । दमौलीमा भएको केन्द्रीय विस्तारित बैठकले यो निर्णय गरेको हो ।

राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकतासहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक व्यवस्थालाई कार्यान्वयन गराउन समाजको नेतृत्व चयन गर्न महाधिवेशन निर्णायक बन्ने केन्द्रीय सचिव कृष्ण थापाले बताए । महाधिवेशनलाई वृहत सहभागितासहित समाजले लिएका माग र मुद्दालाई संस्थागत गराउन निर्णायक रुपमा अगाडि बढाइने भएको छ । समाजको ६२ जिल्लामा कार्यसमिति र भातृ समाजको सक्रियता छ ।

केन्द्रीय विस्तारित बैठकले महासचिव रोमबहादुर कार्की र कोषाध्यक्ष रिबबहादुर थापाद्वारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । समाजले फागुन मसान्तभित्र सबै जिल्ला कार्यसमिति, भातृ समाजबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने र सोको व्यवस्थापन सचिवालयमार्फत कार्यान्वयन गरिने भएकोे छ ।

बैठकमा पूर्व केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले क्षत्रीका मुद्दा सम्बोधनका लागि तथा राष्ट्रिय अखण्डताका लागि समाज सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताए । समाजका केन्द्रीय अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले विगतमा देशलाई विखण्डन हुनबाट रोकी जातीय आधारमा प्रदेशको नामाकरण रोक्न समाजले खेलेको भूमिकालाई निरन्तरता दिंदै जातीय आरक्षणका विरुद्ध राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मजयन्ती लाई राष्ट्रिय पर्वको रुपमा स्थापना गराउनुपर्ने बताए ।
बैठकमा जिल्लागत रुपमा कार्यप्रगतिसहित सुझाव पेश गरिएको थियो ।