मादीको भगवती बजारमा माघे संक्रान्ति मेला

कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा ऐतिहासिक माघे संक्रान्ति मेला सुरू भएको छ । आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरिएको मेलामा प्रदेश सभासद मिना गुरूङले बाजे बराजुले जोगाएको यो एतिहासिक मेला परिपकृत रूपमा मनाउनुपर्ने बताइन् । उनले गाँउका महिलालाई सीपमूलक तालिम लिएर स्वरोजगार हुन आग्रह गरिन् ।

मादी गाँउपालिका ११ का वडाध्यक्ष मित्रबहादुर गुरूङले मादी नदीको सदुपयोग गरी गाँउपालिकाको विकास गर्न सकिने बताए । बरालडाँडा तमु समाजका अध्यक्ष क्या. ढोलबहादुर गुरूङले यो एतिहासीक मेलाको ठूलो महत्व रहेको उल्लेख गरे ।

मेला आयोजक समित संयोजक चिनबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा मेला आयोजक समिति सदस्य रामबहादुर रानाभाटले, बरालडाँडा चेलीबेटी समाजका कोषाध्यक्ष काशीमाया गुरूङ र समितिका सचिव ज्ञानबहादुर कार्कीले बोलेका थिए ।

मेलाका अवसरमा भजन चुड्का, सोरठी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता, घाटु नृत्य प्रदर्शन, छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी र कुर्ची तान्ने खेलसहित राष्ट्रिय तथा स्थानीय दोहोरी कलाकारको प्रस्तुति हुनुका साथै गाँउ घरमा रहेका प्रतिभाको प्रतिभासमेत देखाइनेछ ।

गाँउपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद ५०, उपविजेतालाई नगद ३० हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार प्रदान गरिनेछ । विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यालयलाई क्रमश २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ ।

मेलामा छेलो (ठेलो) हान्ने प्रतियोगितामा प्रथम तथा द्वितीय हुनेलाई क्रमश नगद १० हजार र ५ हजार प्रदान गरिनेछ । गाँउ स्तरीय डोरी तान्ने प्रतियोगितामा प्रथम तथा द्वितीय हुने टिमलाई १० हजार र ७ हजार प्रदान गरिनेछ । मेलामा तरेली सांस्कृतिक परिवारले नृत्यसमेत देखाउनेछ ।