खोला थुनेर चौरमा ताल बनाउन सुरु

तनहुँको व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको ताललाई ‘नारेश्वर ताल’ नामकरण गरिएको छ ।

सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरपालिका र स्थानीयवासीको लागत सहभागितामा निर्माण हुने गर्न लागिएको सो ताल करिव रु ७८ लाखको लागमा निर्माण हुने अनुमान गरिएको छ ।

उपभोक्ता समितिमार्फत् काम गर्दा करीब रु ५५ लाखमा ताल निर्माण हुने सम्भावना देखिएकाले स्थानीय विष्णु थापाको अध्यक्षतामा ताल निर्माण उपभोक्ता समिति गठन गरिएको र सोही समिति मार्फत् ताल निर्माण गरिने नगरप्रमुख न्यौपानेले बताए ।

ताल निर्माणका लागि उक्त नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ भने स्थानीयवासीको जग्गालाई शेयरमा रुपान्तरण गरिने भएको छ । तीनसय मिटर लामोे तालको चौडाई २८ देखि ६८ मिटरको रहने इञ्जिनीयर हरिदत्त पौडेलले जानकारी दिए । तालको गहिराइ २.५ देखि ३ मिटर गहिरो हुनेछ । कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने इञ्जिनियर पौडेलले बताए ।

तालमा ३० हजार घनमिटरसम्म पानी सङ्कलन गर्न सकिने सो ताल चैत महीनामै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । वडा नं १०का अध्यक्ष तुलसीराम सापकोटाले तालको बाँधमा पानी जम्मा गरी सिँचाइ र माछापालन गरिने जानकारी दिए ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त ताल शिलान्यास गर्दै ताल प्राधिकरण बनाउने तयारी भइरहेको बताए । उनले प्रदेशभित्रका तालतलैया संरक्षण गर्ने उद्देश्यसहित ताल विधेयक ल्याइने तयारी भएको जानकारी दिए ।