स्कुलभित्रै हेडमास्टर कुटिए

मन्त्रीले सचिव कुटेको भोलिपल्ट गोरखामा विद्यालय व्यवस्थापन समिति सदस्यले प्रधानाध्यापकलाई कुटेको घटना सार्वजनिक भएको छ । भीमसेन नगरपालिका १ मसेलको विन्द्रावती माविको पठनपाठन यसै कारण २ दिनदेखि ठप्प छ ।

प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठलाई कुटपिट गर्ने शिवकुमार श्रेष्ठलाई कारबाही माग गर्दै विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समिति सदस्यसमेत रहेका श्रेष्ठले आइतबार विद्यालय परिसरमै उत्तरनारायणलाई हातपात गरेका थिए । शिवकुमारलाई कारबाही नहुन्जेल पढाउन नसक्ने एक शिक्षकले बताए ।

प्रहरी शिवकुमारलाई आइतबार नै नियन्त्रणमा लिएको थियो । शिवकुमारको परिवारले २०६७ सालमा विद्यालयलाई जग्गा दान गरेको थियो । दिएको जग्गाबाहेक अरु जग्गा मिचेर विद्यालय भवन निर्माण गरेको उनको आरोप छ । यसबारे कुरा गर्दा प्रधानाध्यापकले वास्ता नगरेपछि आफूले कुटेको उनले घुमाउरो तवरले स्वीकारेका छन् ।

विद्यार्थी र शिक्षक मिलेर उनीहरुलाई छुट्याएका थिए । प्रहरीले भने दोषी पत्ता लगाएर कारबाही गर्ने बताएको छ शिवकुमारलाई पक्राउ गरेर ल्याएको र कुरा नमिलेपछि ३ दिन म्याद थप गरी राखेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोलाबहादुर रावलले जानकारी दिए ।