क्योकुशिन बुदोकाई कराँते आजदेखि

माघे संक्रान्तिको अवसरमा आजदेखि १८ औं सस्करणको क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता शुरु हुदैं छ । आज दिउँसो पोखरा रंगशालामा शुरु हुने प्रतियोगितामा २५० खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

पोखराको ढुंगेसाँघुमा साँस्कृतिक मेला लाग्दै आएको छ । इतिहासदेखि ढुंगेसाँघुमा मेला भर्न कास्की, स्याङजा, पर्वत, बाग्लुङ, तनहुँ लगायतका जिल्लाबाट सर्वसाधारण ओईरिन्छन् । मेलाकै दिन संक्रान्तिमा नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीले विगत १७ वर्षदेखि कराँते च्याम्पियनसिप गर्दै आएको छ ।

आज मंगलबार १८ औं सस्करणको माछापुच्छ«े फुल कन्ट्याक्ट कराँते प्रतियोगिता गर्दै छ । सेमिफाईनल र फाईनलका खेलहरु भने ढुंगेसाँघुको मेलामा गर्ने संघले जनाएको छ । महिला तथा पुरुषको तौल समूहमा प्रतिस्पर्धा गराईने छ ।

महिला तर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी तौल समूहमा प्रतिस्पर्धा गराईने छ । पुरुष तर्फ भने ५०, ५५, ६० र खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराईने कास्की जिल्ला क्योकुशिन बुदोकाई कराँते संघका सचिव सुवापस खड्काले बताए । क्योकुशिन बुदोकाई कराँते पश्चिमाञ्चल प्रशिक्षक दिपकबहादुर गोदारका अनुसार प्रतियोगितामा कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, तनहुँ र गोरखा जिल्ला गरी २ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता खेलाडीहरुले ट्रफी प्राप्त गर्ने छन् ।