६० प्रतिशत क्याम्पस बन्द हुने अवस्थामा

 देशभर सञ्चालित ५३२ सामुदायिक क्याम्पसमध्ये झन्डै ६० प्रतिशत क्याम्पस बन्द हुने अवस्थामा रहेका छन् । तथ्यांकअनुसार झण्डै ३०० क्याम्पस बन्द हुने अवस्थामा रहेका हुन् । ती क्याम्पसमा ५० जनाभन्दा कम विद्यार्थी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्ग्निर्देशन प्रतिवेदन २०७५’ अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा त्यस्ता क्याम्पसलाई तत्काल बन्द गर्न वा मर्ज गर्न सुझाव दिएको छ ।

विश्वविद्यालयले मनपरी रूपमा क्याम्पस सम्बन्धन दिएको कारण ती क्याम्पसहरुको अवस्था धराशयी बन्दै गएको संयोजक एवं विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राडा देवराज अर्यालले बताए । ‘यही अवस्थामा सम्बन्धन दिँदै गएमा अबको केही बर्ष भित्र सामुदायिक क्याम्पसको अवस्था धराशयी हुनेछ’, उनले भने ।

अर्यालका अनुसार कतिपय क्याम्पसले आफ्ना शिक्षकलाई तलब खुवाउन सकेका छैनन् त कतिपयमा विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेका छन् ।

विश्वविद्यालयले सम्बन्धन बढाउदै जाने हो भने सन २०३० मा नेपालमा क्याम्पसको संख्या ३ हजार पुग्ने र विद्यार्थी मात्रै होइन नेपालकै विश्वविद्यालयको शिक्षा भद्रगोल हुने उनले बताए । हाल नेपालमा सम्बन्धन प्राप्त क्याम्पसको संख्या एक हजार चार सय आठ छ ।