मेसिन रिडेबल भिसा लागू गर्ने तयारी

प्रचलनमा रहेको नेपाली भिसा स्टिकर न्यून गुणस्तरको भएपछि सरकारले मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको छ ।

सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरणको तयारी गरेको हो ।

सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एकआरभी (मेसिन रिडेबल भिसा) लागू गर्ने तयारी गरेको छ ।

विदेशीले पनि अब मेसिन रिडेबल नेपाली भिसा पाउने छन् ।गैरपर्यटकीय पछि पर्यटक भिसावाहकलाई पनि एमआरभी जारी गरिने विभागले जनाएको छ।

वैशाखसम्म परीक्षणका रूपमा एमआरभी जारी गर्ने महानिर्देशक पौडेलले बताए। विभागका निर्देशक विष्णुहरि उपाध्यायले ऐन संशोधन हुनसाथ एमआरभी जारी गरिने जानकारी दिए। विभागले अध्यागमन नियमावली संशोधन गर्न गृहमा प्रस्ताव पठाएको छ।

प्रस्तावित एमआरभी स्टिकरको आकार ७४ देखि १ सय ५ मिलिमिटरसम्म हुनेछ। भिसामा व्यक्तिको फोटोसहित वैयक्तिक विवरण राखिनेछ। भिसाको सबैभन्दा तल्लो भागमा मेसिन रिडेबल जोन राखिनेछ। जोनमा भिसावाहकको देश, नाम, जन्ममिति, लिंगलगायत विवरण उल्लेख हुनेछ। स्टिकरको पृष्ठभूमि हलुका रातो र निलो हुनेछ। पृष्ठभूमिमा मायादेवी मन्दिर र अशोक स्तम्भ रहने छन्।